विदेसी पर्यटकका लागी भिसा खुकुलो बनाएको प्रचारले सास्ती



काठमाडौं । कोरोना महामारीपछि नेपाल आउन चाहेका विदेशी पर्यटकका लागी भिसा प्रक्रिया सहज बनाएको प्रचारले समस्या व्यहोर्नुपरेको गुनासो पर्यटकहरुले गर्न थालेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका निकायले केही दिनअघि ‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७’ ले पर्यटक आगमन सहज भएको भन्दै व्यापक प्रचार गरेका थिए ।

यसैलाई आधार मानेर नेपाल आएका र आउन खोज्ने पर्यटकलाई भने अध्यागमन विभाग र विदेशस्थित कूटनीतिक नियोगले भने साविकको निर्णयमा कुनै परिवर्तन नभएको भन्दै फिर्ता गरिरहेका छन् । यसले नेपाल आउन उत्साहित पर्यटक निरास बन्नुका साथै सरकारका तीन वटा मन्त्रालय बीचमै चरम समन्वयको अभाव देखिएको पर्यटन बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीका अनुसार दूतावास पुग्ने गरेका र विमानस्थलसम्मै आएका पर्यटकले अनअराइभल भिसा नपाएको भन्दै टेलिफोनबाट प्राप्त हुने गुनासो बढेको छ ।

गृह मन्त्रालयको अध्यागमन र परराष्ट्र मन्त्रालय मातहतका विदेशी कूटनीतिक नियोगले भिसा दिने प्रक्रिया सहज बनाउने निर्णय नै नभएको भन्दै पर्यटकलाई फर्काइरहेको गुनासो अत्यधिक आएको छ,’ सीईओ रेग्मीले भने ।