ताइवानमा ३५० बढी यात्रु बोकेको रेल दुर्घटना हुँदा ४१ जनाको मृत्यु



काठमाडौं । ताइवानमा यात्रुबाहक रेल दुर्घटना हुँदा अहिलेसम्म ४१ जनाले ज्यान गुमाइसकेको समाचार संस्था एएफपीले जनाएको छ । करिब ३५० भन्दा बढी यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको रेल शुक्रबार दुर्घटना भएको ताइवानको अग्नि विभागलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

रोयटर्सका अनुसार सुरुङभित्र हिडिरहेको रेल पटरीबाट बाहिर निस्किएपछि दुर्घटना भएको हो । पर्यटक र स्थानीय यात्रु बोकेर रेल ताइपेइबाट ताइतुङतर्फ जाँदै थियो । दुर्घटनामा परी कम्तिमा ४० यात्रु घाइते भएका छन् ।

करिब ७० भन्दा बढी यात्रु च्यापिइरहेका छन् । रेलका अघिल्ला ४ वटा डिब्बाबाट करिब १०० जना यात्रु बाहिर निस्किएको समाचारमा जनाइएको छ । करिब ८ डिब्बामा क्षति पुगेको र त्यहाँ पुग्न निकै कठिन भइरहेको छ । यस दुर्घटनालाई ताइवानमा चार दशक यताकै सबैभन्दा खराब रेल दुर्घटना भएको भनिएको छ ।