हङकङमा ७ लोकतन्त्रवादी अभियन्ता दोषी ठहर



काठमाडौं । हङकङको अदालतले ७ लोकतन्त्रवादी अभियन्तालाई दोषी ठहर ठहर गरेको छ । लोकतन्त्रवादी प्रकाशक जिम्मी लाई, पूर्वसांसद मार्टिन लीसहित ७ जना अभियन्ता दुई वर्षअघिको एक मुद्दामा दोषी ठहर गरिएको हो ।

फैसलासँगै उनीहरूलाई अब जेल चलान गरिने जनाइएको छ । दोषी ठहर गरिएका सातै जनाले आफूहरू निर्दोष रहेको दाबी गर्दै आएका छन् । दोषी ठहर गरिएका अन्य पूर्वसांसदहरूमा मार्गरेट एङ्ग, साइड हो सउ–लान, ली चेउक–यान, अल्बर्ट हो चुन–यान र लिउङ्ग क्वोक–हङ (लामो कपाल) छन् ।

उनीहरूलाई गैरकानुनी रूपमा सभा–सम्मेलन गरेको आरोपमा दोषी ठहराइएको हो । हङकङमा दुई वर्षअघि लोकतन्त्र पक्षधरहरूले बृहत् प्रदर्शन गरेका थिए । फैसलाको समय अदालतबाहिर उपस्थित प्रदर्शनकारीको एक समूहले ‘राजनीतिक सुनुवाइ नमान्ने’ भन्दै नाराबाजी गरेको थियो । त्यस्तै प्रकृतिको मुद्दामा दुई जना अभियन्तालाई यसअघि नै ५ वर्षको जेल सजाय सुनाइएको थियो ।

बिहीबार दोषी ठहर गरिएका ७ जनालाई भने पछि सजाय तोकिने जनाइएको छ । तीमध्ये केहीविरुद्ध राष्ट्रिय सुरक्षा कानुअन्तर्गत अन्य मुद्दासमेत लगाइएको छ । हङकङको सबैभन्दा ठूलो एप्पल डेली समाचारपत्रका प्रकाशक जिम्मीलाई विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपसमेत लगाइएको छ । हङकङ प्रहरीले जिम्मीलाई विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चीनले हङकङमा उक्त कानुन गतवर्षबाट कार्यान्वयनमा ल्याएको हो । कानुनको विरोधमा गतवर्ष हङकङमा भएको लोकतन्त्रवादी आन्दोलनका समर्थक जिम्मीले चीन तथा हङकङका शासकको कडा आलोचना गर्दै आएका थिए । जसका कारण उनी शासकको तारो बनेका थिए ।

७२ वर्षीय जिम्मीलाई गैरकानुनी रूपमा भेला भएको र बलजफ्ती गरेको अभियोगमा एक वर्षअघि पक्राउ गरिएको थियो । तर त्यतिबेला उनी धरौटीमा छुटेका थिए ।