इजरायली राजदूत र सभामुख सापकोटाविच शिष्टाचार भेट



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत हनान गोडरबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । बिहीबार सिंहदरबामा भएको भेटमा सभामुख सापकोटाले नेपाल र इजरायलबीच ६० वर्ष लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको बताएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सभामुख सापकोटाले उनले इजरायलले कोरोना नियन्त्रण र आम नागरिकलाई खोप लगाउने कार्यमा प्राप्त गरेको सफलताका लागि बधाई दिएका थिए । सापकोटोले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण लगायतका सबै क्षेत्रमा सम्बन्ध र सहकार्यको ढोका छिट्टै खुल्नेमा आफू आशावादी रहेको बताए ।

उनले दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताए । राजदूत गोडरले नेपाल र इजरायलबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरेका थिए । उनले दुबै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताए ।