नेपाली बजारमा कच्चा सुनको अभाव : माग भन्दा आयातको हिस्सा ३० किलो कम



काठमाडौं । नेपाली बजारमा कच्चा सुनको चरम अभाव भएपछि गहनाको अग्रिम बुकिङ प्रभावित भएको व्यवसायीले बताएका छन् । ग्राहकको माग अनुसारको सुन उपलब्ध नभएपछि वैशाखको लगनका लागि सुनको अग्रिम खरिद गर्न बजार पुगेका ग्राहकहरु फर्काउन थालिएको व्यवसायीहरुले बताएका छन् ।

नेपाली समुदायमा बैशाखमा धेरै विहेवारी र व्रतवन्ध गर्ने गरिएको छ । विहेका लागी आबश्यक पर्ने गरगहनाको ग्राहकहरुले अग्रिम रुपमा बुकिङ गर्ने गरेका छन् ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले वैशाखको १० गतेबाट सुरु हुने बिहेको लगनका लागि अग्रिम अर्डर लिन नसकिएको र आएका ग्राहकलाई फर्काउनु पर्ने अवस्था आएको बताए ।

वैशाखको लागि भन्दै अहिले दैनिक ३५ देखि ४० किलो सुनको माग भएपनि बजारमा दैनिक १० किलो मात्रै सुन आयात भएको अध्यक्ष शाक्यले बताए ।
उनका अनुसार हाल दैनिक माग भन्दा आयातको हिस्सा ३० किलो कम रहेको छ । ग्राहकले चाहेअनुसारको सुन समयमै दिन सकिने÷नसकिने अन्यौलकै कारण ग्राहकहरुको अर्डर चाहेर पनि लिन नसकिएको उनको भनाइ छ ।