सर्बोच्चको न्यायाधिसमा सिफारिस सुवेदीको योग्यता विवाद : चैत ३० मा फैसला हुने



काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता विवादमा चैत ३० गते फैसला हुने भएको छ । सुवेदीको योग्यताको विषयमा प्रश्न उठाइ परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले चैत ३० गते फैसला सुनाउन मिति तोकेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

हाल उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश रहेका सुवेदीलाई न्याय परिषदको फागुन २८ गते बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
तर सुवेदीसँग सर्वोच्चको न्यायाधीश हुन संविधानले तोकेको योग्यता नभएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दिएका थिए ।

सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीशको रुपमा ३ वर्ष ३ महिना ३ दिन मात्रै काम गरेको र राजपत्रांकित प्रथम श्रेणीका पदमा जम्मा ९ वर्ष १० महिना १५ दिन काम गरेको दावी गर्दै रिट निवेदकले सर्वोच्चको न्यायाधीशका लागि योग्यता नपुगेको दावी गरेका हुन् ।

उक्त रिटमाथि बिहीबार न्यायाधीश केसीको इजलासमा सुनुवाई भएको थियो । अब फैसला भने चैत ३० गते सुनाउने गरी मिति तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।