ओली गुट राज्य दोहनको गिरोहमा परिणत भयो : भुसाल



काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई गुट हुँदै राज्य दोहनको गिरोहमा परिणत गरेको प्रतिक्रिया दिएका छन् ।

नेता भुसाललाई अध्यक्ष ओलीले बिहीबार ६ महिना निलम्बन गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भुसालले ओलीलाई सत्ता भोगको अतृप्त तृष्णाले म र मेरो बाहेक केही नदेख्ने बनाएको आरोप समेत लगाएका छन् ।

उनी अगाडी लेख्छन्, ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेको र अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ ।

उनका लागि संसारमा या त चाकर छन् या शत्रु’, भुसालले लेखेका छन् ।त्यस्तै नेता भुसालले एमालेको चिरहरण गर्दै लोकतन्त्रको हुर्मत लिएको टिप्पणी गरेका छन् । उनले आफ्नो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि आफुले दुनियाँसँग माफी मागेका छन् ।