दक्ष जनशक्ति निर्माण गर्ने नीति लिन शिक्षासम्बद्ध निकायहरुलाई प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आवश्यक जनशक्तिको वैज्ञानिक आंकलन गरी सोहीअनुसारको दक्ष जन शक्ति निर्माण गर्ने नीति लिन शिक्षासम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रमसम्बन्धी प्रतिवेदन पेश गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त ओलीले यस्तो निर्देशन दिएका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विद्यालयका तत्कालिक आवश्यकता र भौतिक पक्षलाई सुधार्न बृहतस्तरमा गरिएको एउटा नौलो प्रयास भएको प्रधानमन्त्रीले जानकारी दिए ।

सरकारले मेलम्ची खानेपानी जस्ता पहिले सुरु भएका योजनालाई सम्पन्न गर्नेदेखि राष्ट्रपति शैक्षिक सुधार जस्तो नवीनतम् योजनालाई अघि बढाउनेसम्मका काम गरिरहेको उनले बताए ।

समाजका कतिपय बर्ग शिक्षा लिनका लागि शिक्षालयसम्म आउने अवस्थामा नरहेकोले उनीहरुकै स्थानमा शिक्षा लैजानुपर्ने अवस्था रहेको उनले बताए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसँगै सिकाइको प्रभावकारितामा पनि गम्भीर ध्यान दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।