क्यालिफोर्नियामा बुधबार भएको गोलीकाण्डमा चार जनाको ज्यान गयो



काठमाडौं । संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् ।

घटनास्थलमा अपराह्न ५.३० बजे प्रहरी पुग्दा सर्वसाधारणमाथि गोली चलाउनेक्रम जारी रहेको र प्रहरीले आक्रमणकारीमाथि गोली चलाउँदा घाइते भएका उनलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घाइतेका बारेमा प्रहरीले तत्काल केही बताएको छैन, तर घटनामा एक बालक र एक महिला निकै गम्भीर रहेका जनाएको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले ट्वीट गर्दै उक्त घटना निकै भयावह र हृदयविदारक रहेको बताएका छन् । लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई साताभित्रै भएको देशकै तेस्रो घटना हो ।

गत साता अमेरिकाकै कोलोराडो राज्यको बाउल्डरस्थित सुपरमार्केटमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको थियो भने त्यसको एक साताअघि मात्र एटलान्टाका तीन वटा मसाज पार्लरमा गोली हानेर छ जना एसियाली मुलका महिलाको ज्यान गएको थियो ।