साउदीमा करारभन्दा फरक काम र कम्पनी नखोज्न दूतावासको आग्रह



काठमाण्डौ । साउदीमा रहेका नेपाली कामदारलाई करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्न त्यँहाको नेपाली दूतावासले आग्रह गरेको छ ।

साउदीले कफला प्रणालीलाई सुधार गर्दै रोजगारदाता परिवर्तन गर्न पाउने नियम बनाए पनि बढी तलबको लोभमा विधिवत् रुपमा कफला प्रणाली हस्तान्तरण नभएसम्म कम्पनी छाडेर भाग्ने वा काम छोड्नु अपराध ठहरिने हुँदा दूतावासले यस्तो अनुरोध गरेको हो ।

यसरी कम्पनी छाडेर भागेको अवस्थामा अवैध हुन गइ स्वदेश फर्किन तथा बिरामी भए उपचार गर्न समस्या हुने र अवैध रुपमा काम गर्दा दुर्घटनामा परि ज्यान गएमा पनि परिवारले सामाजिक सुरक्षा जीवन बिमा मार्फत् कुनै पनि रकम नपाउने हुँदा सचेत रहन दूतावासले आग्रह गरेको हो ।

त्यस्तै आफ्नो करार अवधि सकिनुभन्दा अगाडि नै एक्जिट भिसा लगाउने वा करार सम्झौता नवीकरण गर्न बारे यकिन गर्न पनि दूतावासले आग्रह गरको छ ।