कप्तान किरण एसियाकै साताको उत्कृष्ट १० खेलाडीको सूचीमा



काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसहित १० खेलाडी छन् ।

मनोनयन सार्वजनिक गर्दै एएफसीको वेबसाइटमा सन् २०१९ देखि गोलरहित रहेको नेपाली टिमले आत्मविश्वास वृद्धि गर्दै यही साता नेपालमै सम्पन्न थ्री नेशन्स कप फुटबलमा बंगलादेशलाई २–१ ले हराएर विजयी बनेको उल्लेख गर्दै त्यो सफलताको केन्द्रमा गोलकिपर एवम् कप्तान किरण चेम्जोङ रहेको उल्लेख गरिएको छ ।

दुई वर्षअघि कप्तान बनेका किरणको नेतृत्वमा नेपालले पहिलो उपाधि हात पारेको हो । त्यसको दुई दिनअघि मात्रै उनी भारतको आई लिगकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

उनीसँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका छन् ।

पछिल्लो साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको पनि एएफसीले जनाएको छ । एएफसीको वेबसाइटमार्फत गर्ने भोटको आधारमा विजेताको चयन गर्ने जनाएको छ ।