एकतासम्बन्धीको बाँकी काम टुंगो लगाउन नेकपाका शीर्ष नेता आन्तरिक गृहकार्यमा, देशव्यापी जागरण अभियान गर्ने



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकतासम्बन्धीको बाँकी काम असार महिनाभित्रैमा टुंगो लाग्ने भएको छ ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहित शीर्ष नेताहरू त्यसको तयारीमा जुटेका छन् ।
पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्य्विभाजन, विभाग गठनदेखि स्थानीय तहसम्मका कमिटीको एकता टुंगो लगाउन आन्तरिक गृहकार्यमा शीर्ष नेता जुटेका छन् ।
पार्टीको आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन पनि टुंगो लाग्ने क्रममा रहेको छ ।
यसैबिच, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशव्यापी रूपमा जागरण अभियान सुरु गर्ने भएको छ ।
पार्टी एकतापछि केन्द्रदेखि गाउँसम्म नेकपाले जागरण अभियान सुरु गर्ने जनाएको छ । पार्टी एकतासम्बन्धी बाँकी काम टुंगो लगाउँदै जागरण अभियान सुरु गर्दै छ ।
नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले पार्टीले केन्द्रदेखि गाउँसम्म जागरण अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।