लामो समयको खडेरीपछि काठमाडौंमा सामान्य वर्षा



काठमाडौं ।  लामो समयको खडेरीपछि बुधबार बेलुकी काठमाडौंमा सामान्य वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौ उपत्यकालगायत प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ। अन्य केही स्थानमा भने मेघगर्जनसहित वर्षा भएको विभागले जनाएको छ।

पछिल्लो साता विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा रहँदै आएको थियो। वल्ड एयर क्वालिटी रिपोर्टमा बुधबार साँझसम्म काठमाडौं प्रदूषित सहरको पहिलो नम्बरमा थियो।

वर्षाले वायु प्रदूषणलाई केही सुधार हुने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। वनमा लागेको डढेलो कायम रहे पर्सिबाट फेरि प्रदूषण अहिलेकै अवस्थामा फर्कने पनि उनले बताइन्। यद्यपि ठूलै पानी परे डढेलो पनि नियन्त्रणमा आउने उनले बताइन्।