आज अप्रिल फुल डे



काठमाडौं । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ । आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन ।

यही नै यस दिनको विशेषता हो । किंवदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए ।

तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरु १ अप्रिललाई नै नयाँ वर्ष मनाउथ्ये । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाए । अप्रिल फुल दिवसका बारेमा अर्को एउटा प्रचलित जानकारी चाहिँ यस्तो पनि छ । भनिन्छ, पहिलेको क्यालेन्डरमा अप्रिल महिना देखि नयाँ वर्ष शुरु हुन्थ्यो तर पछि क्यालेन्डरमा संसोधन गरी जनवरी देखि नयाँ वर्ष शुरु गरियो ।

यो संसोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो । सन् १५६४ मा फ्रान्सका तत्कालिन राजा चार्ल्स नवौंले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष शुरु हुने घोषणा गरे । जनताले राजालाई स्वीकारेर पहिलो जनवरीलाई वर्षको शुरुवात मान्न थाले । तर कतिपय जनताले चाहिँ यो परिवर्तनलाई सहज रुपमा स्वीकार्न सकेनन् । उनीहरुले पहिलो अप्रिललाई नै वर्षको शुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मूर्खहरुको दिन’ भनी नामकरण गरे ।

यसरी पहिलो अप्रिललाई वर्षको शुरुवात मान्नेहरूलाई उनीहरुले हाँस उठ्दो, गिज्याउने खालको उपहारहरू पठाएर खिसी उडाउन थाले । तिनीहरुलाई विभिन्न तरिकाले झुक्याएर मूर्ख बनाउन थाले । त्यहीबाट नै पहिलो अप्रिलका दिन अरुलाई मूर्ख बनाउने प्रचलनको शुरुवात र विस्तार हुँदै गयो भनिन्छ ।