एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउँदै सरकार

भिडभाडजन्य गतिविधीमा कडाई गर्न जिल्ला प्रशासनलाई स्वास्थ्य मन्त्रालयको अनुरोध


काठमाडौँ । जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस)को बैठकले कोभिड संक्रमण बढ्न सक्ने भन्दै कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्ने निर्णय गरेको छ ।

नियमित मिडिया व्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस निर्णय कार्यान्वयन गर्न सबै प्रमुख जिल्ला अधिकारीहरुलाई अनुरोध गरेका छन् । त्यसैगरी सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्न र सरकारी प्रयोगशालमा जनशक्ति आवश्यकता भएमा जनशक्तिका लागि थप रकम माग गर्न सक्ने बताए ।

मन्त्रालयले संघ अन्तर्गतका प्रादेशिक अस्पताल, संघीय अस्प्ताल तथा सबै आधारभूत अस्पतालमा कोभिड–१९ को उपचार गर्ने व्यवस्थापन गर्ने त्यसको शोध भर्ना गरिने जनाएको छ ।

बैठकले प्रदेशमा आइसोलेसन सेन्टर बनाउन पठाइएको रकमबारे हरेक प्रदेशले प्रतिवेदन पठाउने र आवश्यकता अनुसार थप रकम माग गर्न सक्ने निर्णय गरेको छ । साथै निकासा नभएको रकम सम्बन्धमा स्वास्थ्य मन्त्रालयबाट अर्थ मन्त्राललाई पत्राचार गर्ने भनिएको छ ।

प्रवक्ता गौतमका अनुसार २००० हाइडिपेन्डेसी युनिट (एचडियु) बेडको स्थापना तथा सञ्चालनका लागि स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले हरेक प्रदेशलाई जानकारी गराउने निर्णय पनि बैठकले गरेको छ ।