लहलहैमा भारत पुगेका थिए महोत्तरीका ७ किशोरी



काठमाडौ । भारतको सितामढीमा फेला परेका किशोरी लहलहैमा त्यँहा पुगेको प्रहरीले जनाएको छ । भारतीय प्रहरी समक्ष उनीहरुले दिएको बयान अनुसार किशोरीहरु लहलहैमा भारत पुगेको पाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

ती किशोरीहरुलाई कसैले फकाएर भारत तर्फ लगेको प्रहरीले अनुमान गरेपनि उनीहरुसँग कोही व्यक्ति फेला नपरेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी उपरीक्ष दिनेश अर्चायले उनीहरुलाई भारतीय प्रहरीले सीतामढी रेल्वे स्टेसनबाट फेला पारेको र उनीहरुको साथमा अरु कोही नभेटिएकाले अरुको उक्साहटमा नभई आफैँ गएको जस्तो देखिएको बताए ।

किशोरीहरुले भारतीय प्रहरीलाई दिएको बयानमा आफूहरु गायिका बन्न भारत आएको बताएको भारतीय प्रहरीलाई उदृत गर्दै प्र्रहरी उपरीक्ष अर्चायलेले जानकारी दिए । भंगहा नगरपालिका ८ धरमपुरकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रीया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएका थिए ।

उनीहरु मंगलबार दिउँसो घाँस काट्न सोही नगरपालिकाको ९ अजगैवास्थित पुगेको बेलादेखि बेपत्ता भएका थिए । किशोरी बेपत्ता भएको खबरपछि परिचालित प्रहरीले भारतीय प्रहरीको सहयोगमा फेला पारेको हो । उनीहरुको खोजीमा प्रदेश प्रहरीका प्रहरी इन्सपेक्टर उमाशंकरप्रसाद साहको टोली सितामढी पुगेको थियो ।