विश्वका उदाहरणीय जीवनशैली भएका नेता



विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सोचेभन्दा सामान्य छ। कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमासमेत पढाउँछन्। उनीहरुलाई साइरन बजाउँदै सडकमा भिभिआइपी दम्भ देखाउनु बेतुक लाग्छ।

राज्यको व्ययभार कम गर्न तलब कटौती गर्ने पनि छन्। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त आफ्नो आलिसान सरकारी निवास क्याम्पस सञ्चालन गर्न दिएका छन् । यस्ता विश्व नेताको सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सक्छन्।

कोलिन्डा ग्राभर, क्रोएसियाकी राष्ट्रपति
कोलिन्डाको सामान्य जीवनशैली संसारभर चर्चित छ । आफ्नो घरको काम आफैं गर्छिन् । केही समयअघि उनले आफ्नो घरमा रङ लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो। ०१८ को विश्वकप फुटबलमा क्रोएसियाले फाइनलसम्मको यात्रा तय गर्दा उनी खेलाडीको हौसला बढाउन रसिया पुगेकी थिइन्, तर इकोनोमिक क्लासको टिकटमा।

मार्क रुटी, नेदरल्यान्ड्सका प्रधानमन्त्री

रुटी राजनीतिमा आउनुअघि व्यवसाय गर्थे । अहिले पनि स्मार्टफोन प्रयोग गर्दैनन्, नोकियाको सामान्य मोबाइल चलाउँछन्। प्रधानमन्त्री भएपछि पनि साताको एक दिन प्राथमिक विद्यालयमा पढाउन जान्छन् । साइकल चढेरै कार्यालय जाने–आउने गर्छन् । अगाडि–पछाडि साइरन बजाउँदै हिँड्ने सुरक्षाकर्मी हुन्नन्।

बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति
ओबामा राष्ट्रपतिबाट अवकाश पाएपछि आफ्नै फाउन्डेसन मार्फत समाजसेवामा सक्रिय छन् । सर्वसाधारणकै शैलीमा व्यस्त सपिङ कम्प्लेक्समा किनमेल गरिरहेका भेटिन्छन्। कहिलेकाहीँ सडकपेटीमा बेच्न राखिएका फलफूलको मज्जा लिन्छन्। सुरक्षागार्डविना नै यात्रा गर्न रुचाउँछन् । बिरामीदेखि युद्धपीडितसम्मका लागि सहयोग लिएर पुग्छन्।

जस्टिन ट्रयुडो, क्यानडाका प्रधानमन्त्री
प्रधानमन्त्री जस्टिन शरणार्थीका प्रिय नेता नै हुन्। सिरिया द्वन्द्वबाट विस्थापित ५० हजारलाई उनले क्यानडामा स्वागत गरे । कतिपयलाई लिन त विमानस्थल नै पुगे । आफू हिँड्ने बाटोमा साइरन बजाउँदै यात्रुलाई दुःख दिँदैनन्।

डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति
ट्रम्प विलासी र सन्काहा नेताका रूपमा जति चिनिन्छन् त्यत्तिकै मनकारी पनि छन् । राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै उनले तलब नलिने घोषणा गरेका थिए । तर, अमेरिकी कानुनले उनलाई त्यस्तो छुट दिएन । उनी अहिले वार्षिक एक डलर मात्रै तलब लिन्छन्, बाँकी ३९ हजार नौ सय ९९ डलर सामाजिक काममा खर्च गर्छन्।

इमरान खान, पाकिस्तानका प्रधानमन्त्री
सरकारको नेतृत्व पाएलगत्तै इमरानले सरकार प्रमुखका सुविधा कटौती गरेर विश्वव्यापी चर्चा कमाए । आलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे सैनिक सचिवालयमा सारे र त्यहाँ क्याम्पस सञ्चालन गरे । प्रधानमन्त्रीको सुरक्षाका लागि रहेका हेलिकोप्टर, ३३ बुलेटप्रुफ कारसहित ८० गाडी र आठवटा भैँसी लिलामीमा राखे । दुईवटा गाडी मात्रै आफ्नो सचिवालयमा राखे । आफ्नो निवासमा कार्यरत पाँच सय २४ कर्मचारी कटौती गरेर दुईजना मात्र राखे । प्रधानमन्त्रीका रूपमा आफूले पाउने चिया र खाजा खर्च पनि कटौती गरे । आफूसहित सरकारी कर्मचारीको तलब र विदेश भ्रमण खर्च पनि कटौती गरे।

जुली एनी गेन्टर, न्युजिल्यान्डकी यातायातमन्त्री
जुली साइकल चलाउन वकालत गर्छिन् । आफू पनि साइकलमै कार्यालय ओहोरदोहोर गर्छिन् । सुत्केरी बेथाले च्याप्दा पनि उनी साइकल चलाउँदै अस्पताल पुगिन् र बच्चा जन्माइन् । उनको सामान्य जीवनशैलीको सञ्चारमाध्यमले सधैँ चर्चा गर्छन्।

आन्द्रेस म्यानुअल लोपेज, मेक्सिकोका राष्ट्रपति
गत डिसेम्बरमा राष्ट्रपति निर्वाचित भएलगत्तै आन्द्रेसले आफ्नो पारिश्रमिक ६० प्रतिशत कटौती गरेर मासिक चार हजार तीन सय अमेरिकी डलर मात्रै लिने निर्णय गरे। उनको निर्णयबाट बाँकी मन्त्री र कर्मचारीको तलब पनि कटौती भएर राज्य कोषलाई फाइदा भयो । उनले राष्ट्रपतिनिवासलाई सांस्कृतिक केन्द्र बनाए । पूर्वराष्ट्रपतिको पेन्सन पनि कटौती गर्ने निर्णय गरे।

जस्टिन ट्रयुडो क्यानडाका प्रधानमन्त्री
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्युडो नेता–जनता सबैले समान अधिकार पाउनुपर्ने मान्यता राख्छन् । ४५ वर्षीय जस्टिन शासनसत्तामा आएसँगै सन् २०१६ मा क्यानडाले ४० वर्षयताकै सबैभन्दा धेरै शरणार्थीलाई देशमा प्रवेश दिएको थियो । सिरियामा द्वन्द्वबाट विस्थापित ५० हजारलाई उनले स्वागत गरे । कतिपयलाई स्वागत गर्न टुडेउ आफैँ विमानस्थल पुगे । शरणार्थीलाई न्यानो कोट लगाइदिएर स्वागत गरे । उनी आफ्नो आगमनको समयमा ‘भिआइपी सान’ साइरन बजाउँदै अन्य यात्रुलाई रोकेर दुःख दिन रुचाउँदैनन् । भारत भ्रमण आएका वेला पनि उनले सडकमै ओर्लिएर सर्वसाधारणलाई अभिवादन गरेका थिए । सामान्य होटेलमा खाना खाएर स्वदेश फर्किएका थिए ।

केट मिडिल्टन बेलायती राजकुमारी
बेलायती राजकुमारी केट मिडिल्टन शाही तडकभडक होइन, सामान्य जीवनकी सौखिन हुन् । उनी औपचारिक कार्यक्रममा पनि सरल पोसाकमा देखिन्छिन् । राजकुमारीले वर्षौँसम्म एउटै कपडा लगाएर शाही प्रोटोकल तोडेको गुनासो पनि कतिपयले गर्ने गरेका छन् । तर, यस्ता गुनासामा उनको ध्यान जाँदैन । उनी समाजसेवामा सक्रिय छिन्।

एपिजे अब्दुल कलाम भारतका पूर्वराष्ट्रपति
एपिजे अब्दुल कलाम भारतको राष्ट्रपति छँदा आफ्नो निवासमा आउने निजी पाहुनालाई चिया र खाजा आफ्नै खर्चमा खुवाउँथे। राष्ट्रपति हुनुअघि उनी एउटा कोठा भाडामा लिएर सामान्य जीवन बिताउँथे।

जोसे मुजिका उरुग्वेका पूर्वराष्ट्रपति
उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिका साधारण जीवनका पर्याय हुन् । सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपति छँदा उनलाई ‘संसारकै गरिब राष्ट्रप्रमुख’ भनिएको थियो । अवकाशपछि सरकारले उपलब्ध गराएको आवास छाडेर उनी आफ्नी श्रीमतीसँगै सानो घरमा सरे। त्यहाँ उनले फूल रोपेका छन्, आफैँ बजार लगेर बेच्छन्, आम्दानीले घरखर्च चलाउँछन् ।

जोयसी बान्डा मालाबीकी पूर्वराष्ट्रपति
सन् २०१२ देखि २०१४ सम्म बान्डा मालाबीकी राष्ट्रपति थिइन् । आफ्नो देशको आर्थिक अवस्था सुधार्न उनले मितव्ययी कार्यक्रम ल्याइन् र त्यसको सुरुवात आफैँबाट गरिन् । यी प्रथम महिला राष्ट्रपतिले राष्ट्रपतिका लागि प्रयोग हुने जेटप्लेन र ६० वटा मर्सिडिज कार बेच्ने निर्णय गरेकी थिइन् ।

आयाको मोरिया जापानी पूर्वराजकुमारी
सामाजिक सञ्जालमा आफ्नो सरल जीवन र प्रेमप्रतिको गहिरो प्रतिबद्धताले जापानकी २८ वर्षीया पूर्वराजकुमारी आयाको मोरियालाई चर्चामा ल्यायो । उनले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारीको पद तिलाञ्जली दिइन् । जापानको संविधानअनुसार शाही परिवारका सदस्यले सर्वसाधारणसँग विवाह गरे उनीहरूको शाही पद गुम्नेछ । यसको पर्वाह नगरी उनले व्यवसायी केई मोरियासँग २०१८ अक्टुबरमा गरिन् ।