नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने विश्व बैंकको नँया प्रक्षेपण



काठमाडौं । विश्व बैंकको नँया प्रक्षेपण अनुसार नेपालको अर्थतन्त्रमा तिव्र सुधार आउने देखिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएकोमा तीब्र गतिमा सुधार हुने संकेत गर्दै विश्व बैंकले यो वर्ष २.७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरेको हो ।

तर, यो वृद्धिदरसमेत सरकारको अनुमान भन्दा भने निकै कम हो । कोरोना महामारीका बीचमा समेत सरकारले यो वर्ष ७ प्रतिशत हाराहारीको वृद्धिदरको पूर्वानुमान गरेको छ । विश्व बैंकले बुधबार दक्षिण एसियाली भेगको कुल गार्हस्थ उत्पादनबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष भित्रै अर्थतन्त्रमा ‘भीसेभ’को सुधार देखिने उल्लेख गरेको हो ।

विश्व बैंकले यसअघि गत जनवरी र सन् २०२० को अक्टोवरमा गरेका पूर्वानुमानमा समेत संशोधन गरेको छ । संशोधन अनुसार नेपालको आर्थिक वृद्धिदर अनुमान गरेभन्दा छिटो पुनरुत्थानको बाटोमा देखिएको छ ।

विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८÷७९ मा १.४ प्रतिशतको मात्र वृद्धिदर हुने अनुमान सुधार गर्दै सो आवमा ३.९ प्रतिशतसम्म वृद्धिदर रहने अनुमान गरेको छ । त्यसपछिको आव २०७९÷८० मा भने नेपालले ५.१ प्रतिशतको वृद्धिदर कायम गर्न सक्नेछ । यो करिब कोरोना महामारी भन्दा अगाडिकै अवस्था हो ।

नेपालको आर्थिक वृद्धिदर सकारात्मक अवस्थामा रहनुमा विदेशबाट नेपालीहरुले पठाउने रेमिट्यान्स मुख्य कारण मानिएको छ । विश्व बैंकको प्रक्षेपण अनुसार यो बीचमा भारतले अर्थतन्त्रमा लोभलाग्दो सुधार गर्ने भएको छ ।

नयाँ प्रक्षेपण अनुसार सन् २०२१ मा दक्षिण एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदरमै सुधारको लहर आउने छ । यद्यपि कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिले उत्पन्न चुनौतीहरु भने अहिले पनि कायम नै रहेको विश्व बैंकको भनाइ छ ।