नेपाल पक्षका १६ सांसदले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिए



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव फिर्ता लिएका छन् । एमालेको माधवकुमार नेपाल पक्षका १६ जना प्रदेशसभा सदस्यले मंगलबार सामूहिक रुपमा हस्ताक्षर फिर्ता लिएका हुन् ।

नेपाल पक्षका नेता तथा प्रस्तावित मुख्यमन्त्री समेत रहेका भीम आचार्यलगायत १६ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएकाले नयाँ राजनीतिक परिस्थतिमा अविश्वासको प्रस्तावमाथि समर्थन नरहने जानकारी उनीहरुले प्रदेशसभा सचिवालयलाई गराएका छन् ।

मुख्यमन्त्री राईविरुद्ध तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एक जना माओवादी केन्द्रकासहित एमालेका गरी २३ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् । अब माओवादी केन्द्रका १४ जना प्रदेशसभा सदस्य मात्रै अविश्वस प्रस्तावको पक्षमा रहेको छन् ।