ओली विरुद्ध संघर्ष गर्ने खनाल–नेपाल समूहको रणनिती



काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले अध्यक्ष ओलीको पछिल्लो कदम अस्वीकार गर्दै त्यसविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेतामाथि नै कारबाही गर्न थालेपछि मंगलबार खनाल–नेपाल समूहको स्थायी कमिटी वैठक बसी संयुक्त बक्तव्य जारी गर्दै ओलीबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई नै बिसर्जन गर्ने दूष्प्रयत्न भइरहेको तथा राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेको बताएका छन् ।

चैत्र ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेला, आफूनिकट केन्द्रीय कमिटीका सदस्यहरुको पछिल्ला बैठक र कारबाहीपछिको अवस्था मूल्याङ्कन गर्दै खनाल–नेपाल समूहले ओलीविरुद्ध लड्न देशभर प्रतिवाद, राजनीतिक–वैचारिक भण्डाफोर र सबै कमिटीको पुनर्गठनको अभियान अघि बढाउने रणनीति लिएका हुन् ।

प्रतिवादअन्तर्गत नेपालले आफू र रावलमाथिको कारबाहीविरुद्ध आवाज उठाउने, यसलाई अस्वीकार गर्ने नीति लिएका छन् । यसका लागि संघर्ष गर्ने उनीहरुको निर्णय छ ।

पार्टी एकतालाई विखण्डन गर्ने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट, भेला तथा पार्टीको कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरेको भन्दै ओलीले सोमबार नेपाल र रावललाई कारबाही गरेका छन् । ओलीको कारबाही कदम र खनाल–नेपाल समूहको पछिल्लो रणनीतिले एमालेका दुवै समूहबीचको विवाद बढ्ने देखिएको छ ।