शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गरिने



काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले शताब्दी पुरुष जोशीको नाममा विद्यालय स्थापना गर्न लागेको जानकारी दिएका हुन् ।

उनका अनुसार विद्यालय खोल्न सरकारको आगामी वर्षको नीति, कार्यक्रममा राख्ने जानकारी दिँदै स्थान टुङ्गो नलागेको भएपनि विद्यालयको आवश्यकता भएको तथा घनाबस्ती भएको ठाउँमा स्थापना गरिने छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन जोशी निवासमा पुगेका मन्त्री श्रेष्ठले शताब्दी पुरुष जोशीको नाममा स्थापना हुने विद्यालयलाई देशकै नमुना विद्यालयको रुपमा विकास गरिने जानकारी दिए ।

जोशीले राष्ट्रपतिले आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी लिन मन्त्रीलाई पठाएकोमा आभार व्यक्त गर्दै सरकारले आफ्नो नाममा विद्यालय खोल्न लागेकोमा हर्ष लागेको बताए ।