थ्री नेसन्स कप विजेता खेलाडीलाई जनही १ लाख दिने एन्फाको घोषणा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख रुपैँया पुरस्कार दिने घोषणा गरेको छ ।

एन्फाले मंगलबार एक विज्ञप्ति जारी गरी उपाधि विजेता टोलीका सदस्यलाई जनही १÷१ लाख पुरस्कार दिने जनाएको हो । एन्फाले उपाधिको रकम बाहेक खेलाडीलाई जनही थप १ लाख दिने जनाएको छ । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो ।

दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राई ’बी’ ले एक-एक गोल गरेका थिए ।

थ्री नेसन्सको उपाधिसँगै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।