सरकार र थरुहट संघर्ष समितिविच पहिलो चरणको वार्ता सुरु



काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र सरकारको वार्ता टोलीविच पहिलो चरणको वार्ता मंगलबार सुरु भएको छ ।
निलम्वित सांसद रेशम चौधरीको रिहाइ लगायतको माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट÷ थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच वार्ता भएको हो ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् । थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी रहेको वार्ता टोलीमा रहेका छन् ।
२०७२ भदौमा कैलालीको टीकापुर नरसंहारपछि थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनको क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका निकायमा थारु समुदायका लागि छुट्टै आरक्षण व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राखेर उनीहरु आन्दोलनमा छन् ।