न्यून गुणस्तर तथा दूषित खाद्यवस्तु बिक्री आरोपमा ७६ कम्पनीविरुद्ध मुद्दा



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा न्युन गुणस्तर तथा दूषित खाद्य पदार्थ बिक्री वितरण गरेको आरोपमा ७६ उद्योग विरुद्ध मुद्दा दर्ता भएको छ ।
बजार अनुगमनका क्रममा संकलित नमुना तथा उपभोक्ताको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ती उद्योगहरुविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

दायर गरिएका मुद्दा मध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीको ११, तयारी चाउचाउको ७, मसलाको ६ र घ्युको ५ वटा रहेको विभागका प्रवक्ता मोहन कृषि मर्हजनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै खाने तेलमा पाँच, बेकरी, दाना, सस्, मह, दालमोठ भुजिया र बिस्कुट चार–चार वटा उद्योग विरुद्ध पनि मुद्दा दर्ता गरिएको प्रवक्ता मर्हजनले बताए । यस्तै मिठाइ, दही, चामल, बियर, गेडागुडी, खुर्सानीको धूलो जस्ता विभिन्न खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण उद्योगविरुद्ध पनि मुद्धा दर्ता भएको विभागले जनाएको छ ।