भन्सार विभागद्वारा २० वर्षपछि ६६० जना एजेन्टका लागि दरखास्त आह्वान



काठमाडौ । लामो समयपछि भन्सार विभागले भन्सार एजेन्टको लागी विज्ञापन खुलाएको छ । विभागले निकासी तथा पैठारी गर्दा भन्सार क्लियरेन्स गर्न बस्तुको निर्यातकर्ता वा आयातकर्ताको आधिकारिक प्रतिनिधि भन्सार एजेन्टको विज्ञापन खुलाएको हो ।

२० वर्षपछि विभागले सोमबार यस सम्बन्धी सार्वजनिक सूचना जारी गरेको हो । विभागले ६६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको छ । हाल नेपालमा १६५ जना भन्सार एजेन्ट मात्रै रहेका छन् । अब नयाँ ६ सय ६० एजेन्ट थपेर ८ सय २५ एजेन्टहरु पुर्याउने विभागको तयारी छ ।

भन्सार ऐन अनुसार लिखित र मौखिक परीक्षा उत्तीर्ण गरेपछि मात्रै एजेन्टको लाइसेन्स पाइने व्यवस्था छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्यूटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएका २१ वर्ष उमेर पुगेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले जनाएको छ ।