एमाले अध्यक्ष ओलीद्वारा नेपाल र रावल पार्टी सदस्यबाट ६ महिनाका लागी निलम्वित



काठमाडौं । नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र भीम रावल पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बनमा परेका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नाममा पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलाप गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर देखिएको भन्दै पार्टी विधानको धारा ४९(ख) बमोजित ६ महिनाका लागि निलम्बन गरेको बताएका छन् ।

उनले यो सच्चिने अन्तिम मौका भएको भन्दै उनले आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने तर सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप गरी कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोलगायतका आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाएका थिए ।

चैत १२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले विधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई किन कारबाही नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए । अध्यक्ष ओलीले भने स्पष्टीकरणको जवाफमा गल्ती स्वीकार गर्नुका साटो अंहकार र आत्मकेन्द्रित कुरा मात्र उल्लेख गरेको भन्दै निलम्बनको कारबाही गरेको उल्लेख गरेका छन् ।