थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई



काठमाडौं । थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो ।
नेपाल खेलको सुरुवातदेखि नै हावी भएको थियो । नेपाली टिमले १८ महिनापछि पहिलो पटक गोल गरेको हो ।

पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अन्जन विष्टले चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए । त्यसपछिका ८ खेलमा नेपालले गोल गर्न सकेको थिएन ।च्याम्पियन नेपालले ५ हजार अमेरि की डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजार डलर पायो । नेपाल र बंगलादेश फुटबलको फाइनलमा भिडेको यो तेस्रो पटक हो ।

यसअघि सन् १९९४ को पहिलो साग र १९९९ को आठौं सागमा यी दुई टोली फाइनलमा खेलेका थिए । पहिलो सागमा नेपाल विजयी भएको थियो भने १९९९ मा बंगलादेशले नेपाललाई दशरथ रंगशालामै पराजित गरेको थियो । २१ वर्षपछि नेपालले त्यस हारको बदला पनि दशरथ रंगशालामै लिएको छ ।

यसै महिना तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट तयारीलाई मध्यनजर गर्दै थ्री नेसन्स कप फुटबल आयोजना गरेको हो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।
खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत रगंशाला पुगेका थिए ।