वायु प्रदूषण बढेपछि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय



काठमाडौँ । वायु प्रदुषण बढेको भन्दै सरकारले ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्थ बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले मंगलबारदेखि ४ दिनका लागी सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको शिक्षा मन्त्रालयका सचिव सञ्जय शर्माले जानकारी दिए ।

सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुनेछ । पूर्वनिर्धारित परीक्षाहरू भने तोकिएकै समयमा सञ्चालन हुने छन् ।
चैत २१ गते भने शनिबार परेकाले अब आइतबार मात्रै शिक्षण संस्था खुल्नेछन् । प्रदूषण नघटे अरु केही दिन विद्यालय बन्द गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।

वायु प्रदुषणका कारण हवाई उडान समेत प्रभावित हुँदै आएको छ । शुक्रबारदेखि काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभागअन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।

शुक्रबार काठमाडौं उपत्यकाको वायुको गुणस्तर सूचकांक ४७० सम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनले एक्यूआई ३०० भन्दा बढी हुनुलाई ‘घातक’ भनेको छ ।