शंखरापुरमा पानी भनेर एसिड छ्याप्दा ३ बालबालिका घाइते



काठमाडौं । काठमाडौंको शंखरापुरमा होली खेल्ने क्रममा पानी भनेर एसिड छ्याप्दा तीन बालबालिका घाइते भएका छन् ।

घाइते हुनेमा १६ वर्षीया एक किशोरी र ११ र ९ वर्षका दुई बालक रहेको महानगरीय प्रहरी कार्यालय बौद्धले जनाएको छ । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको थियो । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको बताइएको छ ।