वायु प्रदुषणले ‘भिजिबिलिटी’ कम हुँदा दर्जनौं उडान प्रभावित



काठमाडौं । शुक्रबारदेखी सुरु भएको वायु प्रदुषणका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैतर्फका उडान प्रभावित भएका छन् ।

मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट दर्जनौं उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । यही चैत १३ गते शुक्रबार मध्याह्नपछि काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रको वायुमण्डल बाक्लो तुवाँलोले ढाकेपछि अन्तरराष्ट्रिय विमानस्थलको उडान प्रभावित बनेको थियो ।

विमानस्थलमा तीन दिनदेखि यान्त्रिक पद्धत्ति (आइएफआर) बाट मात्रै उडान भइरहेको छ । बिहीबार करीब दुई घण्टा उडान प्रभावित भई अपराह्नपछि आइएफआर उडान खुलेको थियो । बिहिबार आन्तरिकतर्फ २२ र अन्तरराष्ट्रियतर्फ केही उडान स्थगित भएका थिए । शनिबार पनि अधिकांश उडान प्रभावित भए । धेरै एयरलाइन्सले मुख्य गन्तव्यका उडान रद्द गरेका थिए ।

आइतबार अन्तरराष्ट्रियतर्फ उडान सामान्य रहेको भएपनि आन्तरिकतर्फ भने कतिपय गन्तव्यमा उडान हुन सकेको छैन । रात्रिकालीन उडानयोग्य नभएका सिमरा, भरतपुर र जनकपुरलगायत विमानस्थलको उडान भएको छैन ।