ललितानिवास प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दा आज पनि पेशीमा



काठमाडौं । बालुवाटारको ललितानिवास प्रकरणमा पूर्व-प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सर्वोच्च‍ अदालतमा आज पुनः पेशी चढेको छ।

आजको मुद्‍दा न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुँयालको इजलासमा सो मुद्दाको पेशी एक नम्बरमा छ। अग्राधिकारप्राप्त सो रिटमाथिको सुनुवाइ यसअघि पेशीमा चढेर स्थगित हुँदै आएको थियो।

गत फागुन २ गते सर्वोच्चले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नका लागि प्रमाण उपलब्ध गराउन आदेश जारी गरेको थियो। यसअघि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय आन्दनमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले अख्तियारसँग फाइल मगाउने आदेश गरेको थियो।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूसहितलाई मुद्दा चलाएको थियो। तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए।