तराई क्षेत्रमा आज धुमधामकासाथ होली पर्व मनाइँदै



काठमाडौं । आज तराई र मधेस क्षेत्रमा धुमधामका साथ फागु पूणिर्मा अर्थात् होली पर्व मनाइँदैछ । हिजो पहाडी जिल्लाहरुमा होली मनाइएको थियो ।

होली पर्व आज तराईका जिल्लाहरुमा रंग र अबीर लगाएर मनाइँदै छ । होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।

परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।

होलीका अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा सरकारी विदा दिएको छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबीर लगाएर होली पर्व मनाउँदैछन् ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।

होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।