मेलम्चीको पानी आइतबारदेखी वितरण शुरु



काठमाडौं । काठमाण्डौं महाँकालचौर स्थित पुरानो पानी पोखरीबाट आइतबारदेखी मेलम्चीको पानी वितरण शुरु गरिएको छ । आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ई. मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा खानेपानी वितरणको औपचारिक शुभारम्भ गरेका हुन् ।

महाँकाल क्षेत्रबाट चाबहिल, कुटुबहाल, आनन्दनगर क्षेत्रमा पानी पठाइएको र हाल दैनिक ४ करोड लिटर पानी आएको र पानीको मात्रा बढ्दै जाने भएकाले सोही आधारमा समयतालिका निर्धारण गरी उपभोक्ताको घरमा पानी पठाइने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए ।

हाल पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै पानी थप गर्दै लैजाने योजना अन्तर्गत पहिलो चरणमा आज ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मिनभवन र खुमलटार स्थित पोखरीहरुमा जम्मा हुने योजना रहेको छ ।

उनका अनुसार हाल अहिले सकेसम्म दैनिक र नसके एक दिन बिराएर पानी वितरण गर्ने तालिका बनाइएको छ । साथै कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा जानकारी पाउने वित्तीकै ¥यापिड रेस्पोन्स टीमले समस्या समाधान गरी पानी पु¥याइने छ ।

दोस्रो चरणमा बालाजु स्थित पानी पोखरीमा समेत गरी ६ दशमलव ५ करोड लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्ज स्थित पानी पोखरीहरुमा समेतमा गरी ८ दशमलव ५ करोड लिटर र चौथो चरणमा कीर्तिपुर, थिमी, भक्तपुर स्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीहरुबाट काठमाडौं उपत्यका चक्रपथ भित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने योजना खानेपानी लिमिटेडको रहेको छ । हाललाई पानीको शुल्क भने यथावत रहेको रहेको जनाइएको छ ।