सिसडोलमा फोहोर बिसर्जन गर्न अवरोध



काठमाडौं । यसअघी भएका सम्झौता कार्यान्वयन नभएको भन्दै नुवाकोटको सिसडोलका प्राभावित स्थानियले फोहोर विसर्जन गर्न अवरोध गरेका छन् । उनिहरुले काठमाडौं महानगरपालिका लगायत उपत्यकाका १८ वटा नगरपालिकासँग यस अघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने बताएका छन् ।

फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जन गर्न दिएका छैनन् । स्थानीयहरुले ३ वर्षका लागि फोहोर व्यवस्थापन गर्न भएको सम्झौताको कार्यान्वयन १५ वर्ष भइसक्दा समेत पुरा नभएको बताएका छन् ।

अव्यवस्थित फोहोर बिसर्जन हुँदा वातावरणमा प्रभाव परेको, स्वास्थ्यमा प्रतिकुल असर परेको, सम्झौताहरु कार्यान्वयन नभएको र आफूहरुलाई राज्यले नागरिकको दर्जा समेत नदिएको गुनासो पनि प्रदर्शनकारीहरुको छ ।

उनीहरुले ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने नेपाल सरकारका मुख्य सचिव र स्थानीयसँग भएको सम्झौता र २०७७ कात्तिक ५ गते काठमाडौं महानगरपालिकाको ५२ औं कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने लगायतका सम्झौतहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग प्रदर्शनकारीहरुको छ । सरकारसँग पटकपटक सम्झौता हुने तर कार्यान्वयनका लागि चासो नदिने भएपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको पनि उनीहरुले बताएका छन् ।