कोरोनाको वेवास्ता गर्दै बसन्तपुरमा होलीको रौनक



काठमाडौं । सरकारले कोरोना को जोखिम भएको भन्दै भिडभाड नगर्न गरेको आग्रहको वेवास्ता गर्दै मानिसहरु काठमाडौंको बसन्तपुरमा होली मनाउन पुगेका छन् ।

हरेक वर्ष बसन्तपुरमा ठूलो समूहमा भेला भएर मानिसहरुले होली मनाउने गरेका छन् । तर यस वर्ष सरकारले कोरोना संक्रमणको जोखिम रहेकाले घरभित्रै होली खेल्न र सार्वजनिक ठाउँमा समूहमा होली नखेल्न आग्रह गरेको छ ।

तर युवाहरु ठूलो संख्यामा बसन्तपुर पुगेर आपसमा रङ दल्ने र खुशियाली मनाउने गरिरहेका छन् । आइतबार विहान १० बजेपछि मानिसहरु बसन्तपुर क्षेत्रमा जान थालेका थिए । सुरुमा सानो समूह भएकाले प्रहरीले उनीहरुलाई भेला हुन र रङ खेल्न रोकेको थियो । तर पछि ठूलो समूह जम्मा भएपछि प्रहरीलाई पनि रोक्न कठिन भएको छ ।

रङहरुको पर्व फागू पूर्णिमा आइतबार नेपालको पहाडी जिल्लामा आपसमा रङ खेलेर मनाइएको छ । सार्वजनिक विदासमेत भएकाले मानिसहरु घरमै र समूहमा मिलेर फागू पूर्णिमा (होली पर्व) मनाइरहेका छन् ।