प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

भेटमा त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

भेटका क्रममा सभामुखले सर्वदलीय बैठक बोलाउनेबारे प्रधानमन्त्रीलाई जानकारी गराएकोे बताइएको छ । सभामुखले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच लामो समययता एक्लाएक्लै भेट भएको थिएन । असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम र संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा पनि दुवैबीच विवाद रहेको थियो ।