म्यान्मारमा शनिबार भएको प्रदर्शनमा एकै दिन ११४ प्रदर्शनकारी मारिए



काठमाडौं । म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध शनिबार गरिएको प्रदर्शनको क्रममा दर्जनौं प्रदर्शनकारी मारिएका छन् । म्यानमारमा शनिबार भएको प्रदर्शनको क्रममा सेनाले गोली चलाउँदा गोली लागेर ११४ जना मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रदर्शनका क्रममा २० जनाभन्दा बढी बालबालिका मारिएका छन् भने हालसम्म मारिनको संख्या ४ सय नाघेको छ । जुन्ता शासकले राजधानी नेइपिडअमा ७६ औं सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए ।

त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले सहरमा सुरक्षाकर्मीले दमन गरेको हो । सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहो¥याएका छन् तर उनले चुनावको मितिबारे केही उल्लेख नगरेको बीबीसीले जनाएको छ ।

३० मिनेट लामो भाषणका क्रममा ह्यालिङले ‘सेनाले म्यान्मारका जनतालाई बचाउने र लोकतन्त्रप्रति उनीहरूको तिर्खा मेटाउने’ जनाएका थिए ।