सजगताका साथ होली मनाउन अनुरोध



काठमाडौँ । कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस पटकको होली पनि सजगताका साथ मनाउन आग्रह गरेको छ ।
मन्त्रालयले शनिबार सूचना जारी गरी मानिसहरुको भीडभाड बढ्न सक्ने भन्दैे सामूहिक रुपमा होली नमनाउन आग्रह गरेको हो । कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले होलीमा हुल र ठूला जमघटबाट टाढा रहन सुचनामा मन्त्रालयले अनुरोध गरेको छ ।

पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सरकारले सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन पनि आग्रह गरेको छ ।

खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोरदोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाइसाथ पालना गर्न उनीहरूको सुझाव छ ।

त्यस्तै सार्वजनिक यातायात क्षेत्र र शिक्षण संस्थामा कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै सरकारले जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।