इजिप्टमा रेल दुर्घटनामा हुँदा ३२ को मृत्यु, १५६ जना घाइते



काठमाडौं । इजिप्टको सोहाग प्रान्तमा शुक्रबार भएको रेल दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । सोहाग प्रान्तको तहता सहरमा दुईटा रेल आपसमा ठोकिएपछि रेलका डिब्बाहरू पल्टिदा अन्य १५६ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लुक्सोरबाट अलेक्सान्द्रिया जाँदै गरेको रेल कायरोबाट अस्वान जाँदै गरेको रेलसँग जुधेको हो । घटनाबारे अनुसन्धान गर्न एक प्राविधिक समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । घटनास्थल राजधानी कायरोबाट करिब ३ सय ६५ किलोमिटर टाढा पर्छ ।

दुर्घटनापछि घटनास्थल पुगेका प्रधानमन्त्री मोस्तफा मदबौलीले घटनामा ज्यान गुमाउनेका परिवार तथा घाइतेलाई सरकारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।समयमै मर्मत सम्भार नगरिँदा इजिप्टमा बारम्बार रेल दुर्घटना हुने गरेको छ । सन् २००२ मा इजिप्टको रेलमा फैलिएको भीषण आगलागीक कारण कम्तीमा ३ सय ७३ जनाको ज्यान गएको थियो ।