कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै



काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने भएको छ। शनिबार साढे ११ बजे बैठक बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत जानकारी गराएका छन्।बैठक केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्नेछ।

शुक्रबार राति दिवंगत भएका नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन शनिबार बिहान १० देखि दिउँसो १ बजेसम्म केन्द्रीय कार्यालयमा जोशीको शव राखिने उनले जानकारी दिए। बैठकमा जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ।

यस्तै श्रद्धाञ्जलीको लागि जोशीको पार्थिव शरीर बिहान १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ। फागुन १४ गते मस्तिष्कघात  भएर अस्पताल भर्ना भएका जोशीको शुक्रबार साँझ निधन भएको हो। जोशीलाई एक महिनासम्म नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

उच्च रक्तचापको औषधि सेवन गरिरहेका जोशीलाई भएको मस्तिष्कघात एकदमै जटिल खालको रहेको नर्भिक इन्टरनेसनल अस्पतालका वरिष्ठ न्युरो सर्जन डा.. राजीव झाको भनाइ छ। मष्टिष्कघातपछि अस्पताल पुर्‍याउँदा उनको टाउकोमा पानी जमेको पाइएको थियो।

जोशीका बायाँ खुट्टा र हातमा फागुन १३ गते राति समस्या देखिएको थियो। त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो। वीरमा पुग्दासम्म उनी बोल्न सक्ने अवस्थामा थिए। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। अस्पताल पुगेदेखि नै अचेत रहेका जाेशीको एक महिनाको उपचारपछि निधन भएको हो।