कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन



काठमाडौं । नेपाली कांग्रेसका कर्मठ नेतामध्ये एक नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ।

५७ वर्षीय जोशीलाई ठीक एक महिना पहिले फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। सोही अस्पतालमा उनको उपचारका क्रममा ज्यान गएको हो।

२०२० साल पुस २४ गते काठमाडाैंमा जन्मिएका नेता जोशी नेपाली राजनीतिमा सधैं असल नेताको रूपमा चिनिए। वैचारिक र अध्ययनशील नेता जोशी २०३६ सालबाट विद्यार्थीकालबाटै राजनीतिमा लागेका थिए।

राजनीतिकै क्रममा पटकपटक हिरासत बसेका जोशी काठमाडौं क्षेत्र नं ८ बाट २०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट विजयी भएका थिए। उनी काठमाडौं महानगरपालिकाका उपमेयरसमेत भएका थिए।

२०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा होमिएका जोशी कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीसमेत भएका थिए। दोस्रो संविधानसभामा संविधान जारी भएपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री भएका थिए। जोशीले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका थिए।

पार्टी र संगठनलाई वैचारिक लाइनमा डोहोर्‍याउनुपर्छ भन्ने मान्यता राख्ने जोशी सामाजिक काममा पनि त्यतिकै सक्रिय रहन्थे। जसको उदाहरण गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष थिए उनी।

जोशीको निधन नेपाली राजनीतिमा कर्मठ र इमानदार छवि बनाएका नेताको अवसान भएको छ। उनीप्रति सामाजिक सञ्जाललगायत सर्वत्र श्रद्धाञ्जलि अर्पण गरिएको छ।