१२ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि चैत २० देखि खुवाइने



काठमाडौं । देशका विभिन्न १२ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान यही चैत २० गतेदेखि शुरु गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा प्रकाशप्रसाद साहले हात्तीपाइले रोगबाट बच्नका लागि १२ जिल्लामा औषधि खुवाइने जानकारी दिए । उनका अनुसार अभियान एक हप्तासम्म सञ्चालन हुने छ ।

उनका अनुसार झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, वागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लाका १२९ स्थानीय तहका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाइने छ । औषधि खुवाउनका लागि पाँच हजार ४०० स्वास्थ्यकर्मी र नौ हजार ५०० महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिने उनले जानकारी दिए ।

नेपालमा करिब ३० हजार हात्तिपाइले रोगी रहेका छन् । यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि ती औषधि खुवाइरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डीईसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि खुवाउने भएको हो ।