बौद्धिक चोरीको आरोपमा त्रिविका ७ प्राध्यापक कारबाहीमा



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले बौद्धिक चोरी गर्ने एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने निर्णय गरेको गरेको छ ।

उनीहरुले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेको भन्दै परिषद्ले कारबाही गर्ने निर्णय गरेको त्रिवि उपकुलपति डा. धर्मकान्त बास्कोटाले जानकारी दिए ।

प्राध्यापक आरमेलीले आफ्नो सामग्री चोरी भएको इमेलमार्फत त्रिविमा उजुरी गरेपछि परिषद्ले छानबिन समितिले आरोपित सातै जनाले बौद्धिक चोरी गरेको प्रतिवेदन बुझाएको थियो ।

त्रिवि केन्द्रीय क्याम्पस रसायन शास्त्र विभागका प्रा.डा रामचन्द्र बस्नेतको संयोजकत्वमा गठन भएको छानबिन समितिले गरेको कारबाहीको सिफारिस अनुसार नै कारबाही भएको परिषद्ले जनाएको छ ।

त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक परशुराम मिश्र, आंशिक प्राध्यापक रोहित देव, सहप्राध्यापक जनक अधिकारी, नरेन्द्र चौधरी, विमल कण्ठ र हरेराम मिश्रलाई परिषदले कारबाही गरेको छ ।

आरोपितहरुको हालसम्म विभिन्न जर्नलमा छापिएको आर्टिकल अमान्य हुने, दुई वर्षसम्म कुनै पनि अध्ययन–अनुसन्धानमा सहभागी हुन नपाउने, थेसिस गाइड तथा सुपरीवेक्षक बन्न नपाउने भएका छन् । आंशिक प्राध्यापक रोहित देवले दुई वर्ष कुनै पनि विश्वविद्यालय वा क्यापम्सहरूमा कक्षा लिन नपाउने भएका छन् ।

उनीहरु सातै जनाको विवरणसहित बौद्धिक चोरीको आरोपमा कारबाहीमा परेको सूचना देशभरका आंगिक क्याम्पस तथा विभागहरुमा पत्राचार गरिएको परिषदले जनाएको छ ।