कोरोनाको जोखिम बढेसंगै सार्वजनिक यातायातमा कडाई गरिने



काठमाडौं ।  नेपालमा पनि फेरी कोरोना भाइरस संक्रमणको जोखिम बढेसंगै रोकथाम र नियन्त्रणका लागि सार्वजनिक यातायातमा मापदण्ड पालनामा कडाई गरिने भएको छ ।

कोभिड–१९ को संक्रमणको जोखिम बढेको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवाला पक्षविचको छलफलले सार्वजनिक यातायातमा भिडभाड हुने भएको हुँदा संक्रमणको जोखिम  बढ्ने भन्दै त्यसलाई रोक्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाई गर्ने निर्णय गरेको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजुदुरहरुबीच छलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने निर्णय भएको जानकारी दिए ।

सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमताअनुसार यात्रुहरु राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुन पानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि प्रजिअ पराजुलीले बताए ।