बागमती प्रदेशमा आइतबार यता संक्रमित बढ्दै



काठमाडौं । बागमती प्रदेशका जिल्लामा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ ।  प्रदेशका जिल्लाहरूमा गरिएको आरटी–पीसीआर परीक्षणको क्रममा कोरोना सङ्क्रिमतको सङ्ख्या आइतबारयता बढेको छ ।

आइतबार प्रदेशभर ४४ जनामा कोरोना सङ्क्रमण भएकोमा सोमबार ९६ जनामा देखिएकोमा मङ्गलबार बढेर १०३ जनामा कोरोना सङ्क्रमण भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले पछिल्ला दिनमा भएको राजनीतिक सभा सम्मेलन, भेला र नागरिकले सुरक्षित व्यवहार नगर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको जानकारी दिए ।

व्यवहार परिवर्तन चुनौतीपूर्ण बनेको भन्दै उनले पछिल्ला दिनमा नागरिकले मास्क लगाउन र भेला र भीडभाडमा दूरी कायम गर्नेतर्फ वास्ता गर्न छाडेकाले कोरोनाको जोखिम बढेको बताए । उनले कोरोना भाइरसको जोखिम र सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार तयारी अवस्थामा रहे पनि अनियन्त्रित भएमा सरकारको प्रयास अपर्याप्त हुन सक्ने भएकाले रोकथाम आवश्यक भएको बताए ।

मन्त्रालयका अनुसार प्रदेशभरमा पीसीआर परीक्षण गर्दा गत शुक्रबार ५१, शनिबार ६२ जनामा कोरोना सङ्क्रमण भएको पाइएको थियो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।