नेपाल र किर्गिस्तानविचको खेल गोलरहित बराबरी रोकियो



काठमाडौँ । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल अन्तरगत आफ्नो पहिलो खेलमा नेपाल र्किस्तानसंग बराबरीमा रोकिएको छ । बिहिवार भएको खेलमा १० खेलाडीमा सीमित नेपाल किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाली खेलाडी किर्गिस्तानमाथि हाबी भए पनि जीत निकाल्न सकेनन् । गोल गर्ने थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमै रोकिएको हो ।

यो बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना छ । यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ ।

किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ । बंगलादेशको १ खेलमा ३ अंक छ । उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।