कञ्चनपुरबाट हराएकी एक महिलाको भारतमा रहस्यमय मृत्यु



कञ्चनपुरबाट ६ दिन अघीदेखी हराएकी एक महिलाको भारतको सम्पुर्णानगरमा शव फेला परेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा शव फेला परेको हो ।

चैत ६ गते घरबाट हराएकी भागरतीको खोजतलास गरिदिन भनी चैत ८ गते इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकोमा २ दिनअघि मात्रै मृत्यु भएको खबर पाइएको मृतक महिलाका पति मोली रानाले बताए ।

भारतीय प्रहरीले रानाको हत्याको आशंकामा उत्तरप्रदेश जिल्ला लखिमपुर थाना सम्पूर्णानगर ग्राम गोविन्दनगरका अन्दाजी ३० वर्षीय विक्रम कुमारलाई पक्राउ गरी अनुसन्धान शुरू गरेको छ ।

प्रहरीका अनुसार भागरती भारतीय नागरिक विक्रमसंग केही दिनदेखि सम्पर्कमा रहेका थिए । मृतक महिलाका पतिको भनाइअनुसार घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हो ।

मृत्यु प्रकरणबारे भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए ।

भारतीय प्रहरीको दबाबमा राना परिवारले शव बुझेर ल्याएका छन् । मृतकका बुवा सुब्बा रानाले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाहीको माग गरेका छन् ।