सिमानाका र अन्तराष्ट्रिय विमानस्थलमा निगरानी बढाउन सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सुझाव



काठमाडौँ । कोरोनाको जोखिम बढेसंगै आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई ८ बुँदे सुझाव दिएको छ ।

मन्त्रालयले विशेषगरी तराईका जिल्लाका नेपाल–भारत सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउन सुझाव दिएको छ ।

पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रिकालीन कार्यक्रम राति ९ बजेपछि बन्द गर्न लगाउने र अनुगमनको व्यवस्था मिलाउनुपर्ने साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्नुपर्ने लगायत सुझाव दिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

छिमेकी देश भारत तथा अन्य युरोपेली देशहरुमा कोभिड–१९ को संक्रमण वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले सीसीएमसीलाई ८ बुँदे सुझाव दिएको हो ।