लगत मुल्य भन्दा साढे २८ करोड बढी तिर्ने गरी युरिया मल खरिद गर्न सम्झौता



काठमाडौं । कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ । जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता भएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

प्रवक्ता पोखरेलका खनुसार एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी प्रति मेट्रिक टन ४७३ अमेरिकी डलरमा मल ल्याउने गरी सम्झौता गरेको हो ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दबाबमा कृषि सामग्री कम्पनीले प्रति मेट्रिकटन ३९१ डलरमा मल ल्याउन परेको टेण्डर रद्ध गरेको थियो ।

तर अहिले प्रति मेट्रिक टन ८२ डलर (करिब साढे ९ हजार रुपैयाँ) बढी मूल्यमा मल ल्याउन सम्झौता भएको छ । यसरी बढी मूल्यमा ३० हजार मेट्रिक टन मल खरिद गर्दा २४ लाख ६० हजार डलर अर्थात २८ करोड ५० लाख ४० हजार रुपैयाँ राज्यलाई भार थपिने जानकारहरुले बताएक छन् ।

कृषि सामग्री कम्पनीले आह्वान गरेको बोलपत्रमा जोशी बिज हाउस काठमाडौं र स्वीस सिंगापुर ओभरसिजले मल ल्याउने प्रस्ताव गरेका थिए । २३ पुस २०७७ मा कम्पनीले मलको लागत तोकेर बोलपत्र खुला गर्दा प्रति मेट्रिक टन स्वीस सिंगापुरले ३९५ र जोशीले ३९१ अमेरिकी डलरमा मल ल्याउन प्रस्ताव गरेका थिए ।