संक्रमण उच्च भए लकडाउन हुन्छ : स्वास्थ्य मन्त्रालय



काठमाडौँ । कोरोना संक्रमितको संख्या उच्च हुँदै भए संक्रमणको चक्र रोक्न लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले स्वास्थ्य मापदण्ड पालना नगर्द संक्रमितको संख्या बद्दै गएको भन्दै यस्तै अवस्था रहे लकडाउन गर्नुपर्ने अवस्था आउने सक्ने बताए ।

उनले मानिसहरुले अनावश्यक भिडभाड गर्ने, मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्नेु, भेटघाट तथा गोष्ठी जस्ता क्रियाकलाप बढाउँदा संक्रमितको संख्या बढ्दै गएको बताए ।

उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह समेत गरेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको छ ।

मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ ।